सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- Apr 16, 2026
- 84
सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (बैशाख ३ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ। त्यस्तै, १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।
अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा जारी गरिएको उक्त शेयरको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति बैशाख ८ गते तोकिएको छ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूबाट वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP Single B इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
वित्तीय सूचकअनुसार कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत तथा खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रहेको छ।













No comments yet.