Sarbaguna

आइतबार बिदा भएपछि शुक्रबार खुल्ने भयो नेपाल स्टक एक्सचेन्ज

नेपाल स्टक एक्सचेन्ज ले अबदेखि शुक्रबार पनि नियमित शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो।

नेप्से सञ्चालक समितिको हिजो बसेको बैठकले सातामा पाँच दिन कारोबार कायम राख्ने उद्देश्यसहित शुक्रबार बजार खुला गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था अनुसार अब आइतबार र शनिबार बजार बन्द रहनेछ भने सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार हुनेछ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ का अनुसार शुक्रबार कार्यालय समय साँझ ५ बजेसम्म कायम गरिनेछ र सोही दिन शेयर कारोबार पनि सञ्चालन हुनेछ। उनले सञ्चालक समिति बैठकबाट शुक्रबार कारोबार सुरु गर्ने निर्णय भएको पुष्टि गरेका छन्।

यसअघि पनि सरकारले २०७९ सालमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो। त्यतिबेला पनि सातामा पाँच दिन (सोमबारदेखि शुक्रबारसम्म) बजार खुला गरिएको थियो। पछि आइतबारको बिदा खारेज भएपछि नेप्से पुरानै तालिकामा फर्किएको थियो।

हालै मन्त्रिपरिषद्को बैठकले बढ्दो इन्धन खपत र वैदेशिक मुद्रा सञ्चितिमा परेको चापलाई ध्यानमा राख्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न शुक्रबार कारोबार सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.