आज अन्तिम दिन: सर्वोत्तम पेन्ट्सको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजै आवेदन दिनुपर्ने
- May 7, 2026
- 55
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेड ले बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति प्राप्त गरेको हो। उक्त आईपीओमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपाल ले कम्पनीलाई “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।














No comments yet.