ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त गाभिए, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु
- Oct 14, 2025
- 149
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर संयुक्त रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कार्तिक २ गते (१९ अक्टोबर २०२५) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले वार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी गाभ्ने–गाभिने प्रक्रिया अघि बढाएका थिए। असोज २३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त प्रक्रिया सम्पन्न भएको हो।
त्यसपश्चात, नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज २६ गते मर्जर स्वीकृति प्राप्त भई समाज लघुवित्तको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामीण विकास लघुवित्तमा मिलान गरिएको छ। अबदेखि संयुक्त कारोबार ग्रामीण विकास लघुवित्तकै नामबाट सञ्चालन हुनेछ।
गाभिएपछि संयुक्त संस्थाको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीमा रहनेछ। साथै, कार्तिक १ गते (अक्टोबर १८) का दिन दुवै संस्थाको सम्पूर्ण बैंकिङ कारोबार डेटा माइग्रेशन (Data Migration) कार्यका कारण बन्द रहने र कार्तिक २ गतेदेखि मात्रै कारोबार सुरु हुने जनाइएको छ। यसबाबत संस्थाले ग्राहक सदस्यहरूसमक्ष असुविधा हुन सक्ने भन्दै क्षमायाचना गरेको छ।
त्यस्तै, मर्जरपछि शेयर लगत एकीकरण र पुनःसूचीकरण कार्य सम्पन्न नभएसम्म का लागि शेयर कारोबार कार्तिक १ गतेदेखि अस्थायी रूपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ।












No comments yet.