Sarbaguna

टक्सार पिखुवा सर्वसाधारणका लागि खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुला

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ।

अब सर्वसाधारणका लागि भने २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरिएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा बैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ।

रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB+’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले औषत स्तरको जोखिम संकेत गर्दछ।

कम्पनीको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ।

यस परियोजनामा लगानी फिर्ता हुने साधारण अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्ट गरिएको आधारमा १८.३७ वर्ष लाग्ने अनुमान गरिएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.