Sarbaguna

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

Mount Everest Power Development Limited ले आज (असार ३ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता स्थानीय बासिन्दा, १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३४ हजार ४०० कित्ता कर्मचारी तथा ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। अब बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ रहेको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असार ८ गते र पूर्ण आवेदन नपरेमा ढिलोमा असार १७ गते बन्द हुनेछ।

कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना को कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष तथा डिस्काउन्टेड पे–ब्याक अवधि ८.९४ वर्ष रहेको छ।

आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB+ (डबल बी प्लस) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक NIMB Ace Capital Limited रहेको छ। लगानीकर्ताले C-ASBA प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै Mero Share मार्फत अनलाइन आवेदन पनि गर्न सकिनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.