Sarbaguna

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन खुला गरेको हो।

कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर अर्थात् ८ करोड ५० लाख रुपैयाँ मूल्यको ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ भने ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको छ।

यसका अतिरिक्त १७ हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर, कुल ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको, सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा Global IME Capital Limited रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा CDS and Clearing Limited द्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा सुविधाबाट दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट मूल्याङ्कनमा CARE Ratings Nepal ले कम्पनीलाई ‘CARE-NP BB- (Issuer Rating)’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

Leave a Comments

Comments

    No comments yet.