सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति सर्यो, अब जेठ १८ गतेदेखि खुल्ने
- May 26, 2026
- 25
सानिगाड हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको आवेदन मिति परिवर्तन गरेको छ। यसअघि जेठ १४ गतेदेखि निष्काशन गर्ने तय गरिएको आईपीओ अब आगामी जेठ १८ गतेदेखि खुल्ने भएको हो। नेपाल सरकारले बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि कम्पनीले आईपीओ निष्काशनको मिति सारिएको जनाएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्न लागिएको हो।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ। अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन हुन लागेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा जेठ २१ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे ढिलोमा असार १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
आईपीओको लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने डिस्काउण्टेड पेब्याक अवधि १४.६९ वर्ष रहेको कम्पनीले जनाएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।















No comments yet.