Sarbaguna

सिटी होटलको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि बिक्री खुला गरेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यसअनुसार कम्पनीले प्रतिशेयर रु. १०० अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरी कुल रु. १ अर्ब ३३ करोड ९२ लाख बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले आवेदन दिन योग्य छन्।

केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB– (डबल बी माइनस) इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट साथै सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ६७ करोड ४० लाख रहेको छ, जुन हकप्रद निष्काशनपश्चात रु. ३ अर्ब १ करोड ३२ लाख पुग्नेछ। संकलित रकम कम्पनीले ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.