Sarbaguna

जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि भदौ १९ सम्म

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५% बराबरको हकप्रद शेयरमा अब भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले १:०.६५ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता शेयर (प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा) जारी गरेको छ।

यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपछि बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। हकप्रदबाट संकलित रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्नका साथै संस्थापक विरेन्द्र बहादुर न्यौपानेलाई तिर्न बाँकी रहेको सापटी भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.